सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियोे ।
यो पनि – सुदूरपश्चिममा सवारी दुर्घटनामा परी दसैँमा नौजनाको मृत्यु
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन् । यस्तै जीप,कार दुई, ट्र्याक्टर एक र बस एक छन् ।
चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ । साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ ।”
यो पनि – मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिनुभयो ।
उहाँले मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताउनुभयो । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभएको छ । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताउनुभयो छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।



प्रतिक्रिया