वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”, जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिनुभयो ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसँैका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताउनुभयो । “सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो”, बेनी –१ को अर्जमबाट देवी थापाले भन्नुभयो, “गाडी चल्न सक्ने अवस्था नै छैन ।”

यो पनि – नदीजन्य पदार्थको चरम अभाव ः रोकियो विकास निर्माण

महेन्द्रनगर, १ कात्तिक (रासस) ः हरेक वर्ष गतअसोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माणलाई समेत प्रभावित गर्ने गरी भीमदत्त नगरपालिकाले नदीजन्य उत्खननका लागि ठेक्का आह्वान गरेको दाबी गर्दै पुल निर्माण कम्पनीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा गत भदौ पहिलो साता अदालतले परमादेश जारी गर्दै पुल निर्माण स्थल (पाँच सय मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर) मा समेत उत्खनन गर्न सकिने आशयसहितको आह्वान भएको ठेक्का निवेदनको अन्तिम टुङ्गो नलागेसम्म ठेक्का सम्झौता नगर्न भनेको थियो ।

यसअघि भीमदत्तले महाकाली नदीमा पुल निर्माणस्थलको क्षेत्र छाडेर रोयल्टी उठाउने ठेक्का दिँदै आएको थियो । उता महाकाली पुल आयोजनाले पुलको ५०० मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर पुलको क्षेत्राधिकारभित्र पर्ने भएकाले रोयल्टी उठाउनका लागि निर्माण अवधिभर ठेक्का दिन नपाउने बताउँदै आएको छ । उक्त मुद्दाको पेशी आगामी कात्तिक १४ गते तोकिएको छ ।

पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले पुल निर्माण नै प्रभावित हुने गरी नगरपालिकाबाट ठेक्का आह्वान भएपछि बाध्य भएर न्यायका लागि अदालत गुहारेको बताउनुभयो । “पुलको ७० प्रतिशत काम सकिँदा सम्म पुल निर्माणको क्षेत्र छोडेर विगतमा रोयल्टीका लागि नगरपालिकाले ठेक्का दियो ।” उहाँले भन्नुभयो, “यस वर्ष पुलमुनिबाटै उत्खन्न गर्न मिल्ने आशयले रोयल्टी ठेक्का भएपछि समस्या पर्ने स्थिति देखियो ।”

उहाँले पुलको ५०० मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तरको क्षेत्र छाडेर नगरपालिकाले आफैँ पनि अमानतमा उत्खनन गरेर पछि हिसाव मिलान गर्न मिल्ने दाबी गर्नुभयो । “निर्माण कम्पनीले पूरै महाकालीको उत्खनन रोक्यो भनेर कुप्रचार गरियो ।” उहाँले भन्नुभयो, “अदालतमा विचाराधीन विषय भएकाले धेरै बोल्न मिल्दैन ।” यसरी पुल निर्माण र स्थानीय तहबीच विवाद हुँदा कञ्चनपुरमा विकास निर्माण, क्रसर उद्यमी र घर निर्माण गरिरहेका स्थानीय बालुवा, गिट्टी र ढुङ्गाका लागि भौतारिरहेका छन् ।

महाकालीमा उत्खनन गर्न समस्या हुँदा यहाँका ठूला विकासे आयोजना समेत प्रभावित बनेका छन् । यहाँस्थित अनमोल क्रसरका सञ्चालक तेजबहादुर चन्दले महाकालीमा उत्खनन रोकिँदा स्थानीयवासी मारमा रहेको बताउनुभयो । “अदालतले पुलको एरिया छाडेर उत्खन्न सहज गर्न कुनै अवरोध गरेको देखिँदैन ।” उहाँले भन्नुभयो, “जनप्रतिनिधि किन जनताको समस्याप्रति बेखबरजस्तै भए भन्ने नै गम्भीर विषय हो ।” उहाँले एक महिनादेखि उत्खनन नहुँदा क्रसरउ उद्योग पनि समस्यामा रहेको बताउनुभयो । “महाकालीमा गिट्टी कुटेर जीविका चलाउने वर्ग पनि यसबाट धेरै प्रताडित छ ।” उहाँले भन्नुभयो, “विवाद सुल्झिँदै जाला तर अहिले अल्पकालीन निकास नगरपालिकाले खोज्नुपर्छ ।”

त्यसैगरी निर्माण व्यवसायी मानबहादुर चौधरीले नदीजन्य पदार्थको अभावले निर्माण प्रभावित भएको बताउनुभयो । “हरेक दिन दर्जनौँ फोन कल बालुवाका लागि आउँछन् ।” उहाँले भन्नुभयो, “लुकीछिपी आउने नदीजन्य पदार्थ महँगोमा किन्न बाध्य छन् ।” त्यसैगरी पुल निर्माण कम्पनी र भीमदत्त नगरपालिकाबीच रोयल्टी विवाद पनि छ । नगरपालिकाका नाममा देखिएको बेरुजु नगरपालिकाले पुल निर्माण कम्पनीबाट असुल्नुपर्ने भन्दै करोडौँ रकम माग गर्दै आएको छ तर पुल निर्माण कम्पनीले पुलको लागत ‘इस्टिमेट’मै नभएको विषयमा रोयल्टी नर्तिने दाबी गर्दै आएको छ ।

“पुलको लागत इस्टिमेड सरकारले बनाएर सोहीअनुसार हामीलाई काम गर्न दिइएको छ ।” इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “यो विषय पनि अदालतमा छ, अदालतको फैसला मान्य हुनेछ ।” भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले नदीजन्य पदार्थ उत्खनन नपाउँदा सर्वसाधारण समस्यामा रहेको बताउनुभयो । नदीजन्य पदार्थको उत्खनन रोकिँदा महाकालीको तटीय क्षेत्रका विपन्न नागरिक निकै मारमा परेको उहाँको भनाइ थियो ।