आज थप पाँच सय ९१ सङ्क्रमित थपिए

आज थप पाँच सय ९१ सङ्क्रमित थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमित सात लाख ८२ हजार ३९३ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ ।  आज २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यो पनि -असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप

कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा गत असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नेपाली नागरिकलाई बचाउने कार्यलाई पहिलो प्राथमिकता दिइने र यसका लागि खोपको व्यवस्था गरी असोज मसान्तसम्म कम्तीमा एक तिहाइ लक्षित वर्गलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धताबमोजिम स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्याङ्कमा लक्षित वर्गमध्ये ४२।२ प्रतिशतलाई पहिलो मात्रा र ३३।५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो ।मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ ।उहाँले अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने जानकारी दिनुभयो । उहाँले बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ ।यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी पनि थालेको उहाँले बताउनुभयो ।