कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटीई सकुशल उद्धार गरिएको बताइएको छ ।
यो पनि – भारी वर्षाको सम्भावना : सतर्क रहन प्रहरीको आग्रह
सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
गए रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।”
क्षतिको एकीन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । जिल्लामा ७० हजार ५०० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । वर्षासँगै कच्ची सडकहरू हिलाम्मे हुँदा आवागमन असहज भएको छ ।



प्रतिक्रिया