दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए

दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोटबाट काठमाडाँैतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो । ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर अवस्थाका थप नौजनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हँुदै आएको छ । घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नंको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेसँगै दुर्घटनामा परेको थियो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए ।

यो पनि- नुवाकोटको मनकामनामा बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ ।

यो पनि – नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि – मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।