वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ ।

लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ऐरी क्षेत्रमा डुबान परेका घर । प्रहरीले स्थानीयवासीलाई उद्दार गरी विद्यालयमा राखेको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनांै बढी घरमा पानी पसेको बताउनुभयो । उहाँले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्याङ्क आउन भने बाँकी छ ।”धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ । धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताउनुभयो । पानी निकास हुने ढलको व्यवस्थापन नभइ सडक पिच हुने गरेका कारण पनि बस्ती डुवानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ बजार आसपासका बस्ती मात्रै नभइ बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । मुख्य रुपमा पानी निकासा हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुवानको समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ । त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पु¥याएको छ ।

यो पनि – महाकाली नदीको बाढीमा फसेका एकै परिवारका पाँचजना रुखमा ः उद्धार गर्न आग्रह

कञ्चनपुर, २ कात्तिक (रासस) ः भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हँुदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ ।

सुकाएको धान बगायो

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारीदिनुभयो । “केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,” उहाँले भन्नुभयो, “केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पु¥यायो । निकै ठूलो क्षति भएको छ । पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्न छन् । काटेको सबै धान बगेको छ ।”

नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन । “निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,” उहाँले भन्नुभयो ।

स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताउनुभयो । काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उहाँले बताउनुभयो । “पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन । घुँडाभन्दा माथि पानी छ,” उहाँले भन्नुभयो, “कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन् ।

दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ । नदीको पानीले चेतावनी तह पार गरेको छ । अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ । गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ । नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ ।