हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य

हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै नेपालीको महान् पर्व बडा दसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ । ती बोकामध्ये नौ बोकालाई दसैँ घरमा बलि दिइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो ।

बाँकी बोका र ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको थियो । अखिल बलि पूर्ति गरिएसँगै दसैँ घरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । जमरा सेलाएसँगै टीका र प्रसाद लगाउनेक्रम अन्त्य भएको हो । यसै गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज २१ गते घटस्थापनाका दिन घर घरका पूजा कोठा एवं दसैँ घरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा लगी सेलाएका छन् । यो सँगै दसैँको टीका लगाउने क्रम सम्पन्न भएको छ ।

आज राति धन धान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातमा जाग्रााम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्नेका घरमा लक्ष्मीले वास गर्ने धार्मिक विश्वास छ । नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ ।

यो पनि – दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ । योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढाटाढा आफन्त एवं मान्यजन हुने अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने बुधबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । चान्द्रमासअनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीपदानसमेत गरिन्छ ।

यो पनि – बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको प्रा डा गौतमले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधबार परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि बुधबारदेखि नै सुरु हुने समितिले जनाएको छ ।