परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यो पनि – महासचिव पोखरेलद्वारा प्रमुख जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका पोखरेलले आज प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेशसभा सदस्य राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणि पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नुभएको हो ।
महासचिव पोखरेललाई जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनुभएको प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । गत साउन १ गते अचानक मष्तिस्काघात भएपछि उपचारका लागि काठमाडौँ जानुभएका ६१ वर्षीय प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किनुभएको हो । उहाँका अनुसार उपेन्द्र देवकोटा मेमोरिएल न्यूरो अस्पतालमा करिब एक महिना उपचारपश्चात् पोखरा फर्कनुभएका जिसीले अहिले नियमित फिजियोथेरापी गरिरहनुभएको छ ।



प्रतिक्रिया