ज्येष्ठ नागरिकको सेवा, सुविधा वृद्धि गर्न सरकार सकारात्मक ः मन्त्री रेग्मी

ज्येष्ठ नागरिकको सेवा, सुविधा वृद्धि गर्न सरकार सकारात्मक ः मन्त्री रेग्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको सेवा, सुविधा वृद्धि गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको वृद्धाश्रमको आज निरीक्षण गर्दै मन्त्री रेग्मीले उक्त कुरा बताउनुभएको हो । मन्त्री रेग्मीले वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्न सरकार गम्भीर रहेको बताउनुभयो । तर सरकारको सहयोग नआउँदासम्म गैरसरकारी संस्थासँग समन्वय गरेर अघि बढ्न मन्त्री रेग्मीले आग्रह गर्नुभयो ।

मन्त्री रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा कुनै समस्या हुन नहुने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले पनि उहाँहरुको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । वृद्धाश्रमका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सरकारी अनुदान पर्याप्त नहुँदा वृद्धाश्रम सञ्चालनमा समस्या परेको बताउनुभयो । सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले आश्रमको अहिलेको अवस्थाका बारेमा मन्त्री रेग्मीलाई जानकारी गराउनुभएको थियो ।

वृद्धाश्रममा हाल ३८ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब रु ११ हजार खर्च हुने गरेको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराउँदै आएका छन् ।