विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुनुहुने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसक्नु भएको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउनु हुने भएको वक्तव्यमा जनाइएको छ । पुटिनले भौतिकरूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ ।
त्यसैले राष्ट्रपति पुटिनले इटलीका प्रधानमन्त्री मारियो ड्राघीलाई नै आफ्नो निर्णयका बारेमा जानकारी गराउनुभएको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले बताउनुभयो । सम्मेलनमा अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ ।
यो पनि – लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने
लेबनानको संसदीय निर्वाचनको मिति तोकिएको छ । लेबनानको संसद्ले नै मङ्गलबार संसदीय निर्वाचनको मिति तय गरेको हो ।संसद्को निर्णयअनुसार लेबनानमा आगामी मार्च २७ मा संसदीय निर्वाचन हुनेछ । यसअघि मे महिनामा गर्ने तय भएको निर्वाचन सारेर मार्चमा गर्ने निर्णय भएको हो ।इस्लामिक धर्मावलम्बीहरूको उपासनाको महिनालाई समेत ध्यान दिएर नयाँ मिति तय गरिएको प्रधानमन्त्री नाजिब मिकातीले बताउनुभएको छ ।
संसद् बैठक पछि बोल्दै उहाँले निर्वाचनको गृहकार्य सरोकारवालाहरूले अहिलेदेखि नै सुरु गर्ने जानकारीसमेत दिनुभयो । लेबनानमा अहिले आर्थिक सङ्कट उत्पन्न भएको छ भने निर्वाचनमा यही विषयलाई मुख्य एजेन्डा बनाइने भएको छ ।



प्रतिक्रिया