पृथ्वीराजमार्ग तीन घण्टापछि दुईतर्फी सञ्चालनमा

पृथ्वीराजमार्ग तीन घण्टापछि दुईतर्फी सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला नजिक बसले माइक्रोलाई ठक्कर दिँदा अवरुद्ध भएको राजमार्ग करिब तीन घण्टापश्चात् सञ्चालनमा आएको छ । आज दिउँसो ३ः३० बजे दुई सवारी साधन एकापसमा ठक्कर खाँदा अवरुद्ध बनेको राजमार्ग साँझ ६ः३० मा सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्ग स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा खुलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । पोखराबाट डुम्रेतर्फ जाँदै गरेको ग १ख ५९९५ नम्बरको बससँग विपरीत दिशामा गुडिरहेको ग १ ख ४८५५ नम्बरको बस ठोकिँदा माइक्रोमा सवार तीन जना घाइते भएका हुन् ।माइक्रो बसका चालक दिवस खत्रीको दाहिने खुट्टा भाँचिएको छ । चालक खत्री र दिनेश पललाई पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पठाइएको छ भने रञ्जना लामिछानेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक र बस प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो पनि – डोटीमा पहिराले राजमार्ग अवरुद्ध

तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर रामजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा आज दिउँसो पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । पहिराले अवरुद्ध राजमार्ग सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण राजमार्ग खुलाउन नसकिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बाजुरा तथा अछामबाट तराइँ जानका लागि आएका दर्जनौँ सवारी साधन तथा यात्रु अहिले बीचबाटोमै अलपत्र परेका छन् ।

यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो जाँदा यातायात सेवा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयकाका अनुसार उक्त राजमार्गको कालागाढ, रडुवा, अड्यौललगायतका ठाउँमा पहिरो आउनुका साथै सडकमा ठूलठूला ढुङ्गा आएका कारण सडक सञ्चालन गर्न सकिएको छैन ।

अवरुद्ध भएको उक्त राजमार्गमा सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरिए पनि पहिरो आउने र सडक तलबाट भासिनेक्रम नरोकिएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । वर्षा र बाढीपहिराले अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् ।