बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो बज्रपात भएको उल्लेख गर्नुभएको छ ।

एमालेले यसक्रममा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ । “वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौ”, विज्ञप्तिमा भनिएको छ, “अवरुद्ध यातायातलगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र सङ्कटमा परेका पर्यटकको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछौ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीले अप्रत्यासितरुपमा आउने यस्ता विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछौ ।”

यो पनि – बझाङको थलारा पहिरो घटना ः सात घर पुरियो,पहिरोमा २३ जना बेपत्ता

थलारा गाउँपालिका–४ डिख्लामा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, एक जना नाम नखुलेका रहेका छन् भने मदन(सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन् । यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर पाँच जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिराको जोखिममा रहेपछि १०० भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “ बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । केही भागेर बाँचे केही बेपत्ता भए, पानी रोकिएको छैन । घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण त्यहाँ पुग्न सकेका छैनन् ।”

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकाले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।”

यो पनि – बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।  बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुसल हुनुहुन्छ ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

यो पनि – धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।

यो पनि – पहिरोमा परी एकजनाको मृत्यु

घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरामा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरामा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हँुदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।
वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ , जोखिम पनि त्यतिकै छ, बाढी पहिराबाट हुन सक्ने क्षेति रोक्न आफँै चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिनुभयो ।

यो पनि – सेती नदीमा आएको बाढीले बझाङमा बसपार्क बगायोः राजमार्ग, विद्युत् र सञ्चार सेवा अवरुद्ध

बझाङ, २ कात्तिक (रासस) ः अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको वहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, सङ्कलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको वहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीयवासी निरनराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ ।

बहुलीगाडले बेला-बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन गरेपछि सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन निर्माण गरिएको छ । लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा छ । बाहुली खोला किनारमा रहेका बङ्गुर र कुखुराका खोर बगाएको छ ।

टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा पनि अवरुद्ध

सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूणर् रुपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

यसैगरी सौर्य ऊर्जामा आधारित बझाङका टेलिफोन टावरमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको वर्षाले जिल्लामा बाढीपहिरोको जोखिम रहेको र केही भइहाले पनि अत्यावश्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका-४ का ईश्वर रोकायाले बताउनुभयो ।

नेपाल टेलिकम जिल्ला शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरमा विद्युत् सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताउनुभयो । सौर्य ऊर्जाको भरमा सञ्चालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ ।

जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेशनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेशनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक रेडियोको कामनै समयमै आम स्रोतालाई सूचना दिएर सर्तक बनाउनु हो । सबै रेडियोले सदरमुकाम भन्दा टाढाका डाँडामा रिले टावर राखेर सञ्चालन गरिरहेका छाँै । दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर विपद्को बेला सूचना प्रवाह गर्न सकिएन ।”

आइतबार साँझदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन् । प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

जयपृथ्वी राजमार्ग पनि अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ केदारस्यूँ गाउँपालिका-१ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालङ्गा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ ।

धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका- ५ का नरेस सिंहले बताउनुभयो । धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उहाँको भनाइ छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, बिजगडा, गिरांैलगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो । बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बङ्गुर फर्म बगाएको छ ।

विभिन्न ठाउँमा गएको पहिरोले सयौं परिवार विस्थापित हुन पुगेका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले सयांै रोपनी खेत पनि बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख नायब उपरीक्षक रुपक खडकाले बताउनुभयो ।

जिल्लाका ३९५ स्थान बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । जयपृथ्वी नगरपालिकाका ११६, बुङगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथली गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले जानकारी दिनुभयो ।