कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । “डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।” घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भन्नुभयो, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।”

यो पनि – बेमौसमी वर्षाः सुदूरपश्चिममा दश जनाको मृत्यु

अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीय मन्धरा बलायर छन् ।

यस्तै डडेलधुराका ३२ वर्षीय विष्णु अवस्थी र ६५ बर्षीया नरपता शाहीको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ । पहिरोमा परी डोटीका वीरबहादुर, वासुदेवी , बिन्दा कुन्जेडा, झुपारी सार्की, डडेलधुराका देवकी र ग्रिस रावलसमेत गरी छ घाइते भएका छन् ।बझाङको थलारा गाउँपालिका–४ मा गएको पहिरोमा पुरिएर उजली, हासु, आयुस , हिमा र सीमा पार्कीसहित २३ बेपत्ता भएका छन् । उक्त घटनामा हर्क , धनगिरी, सीता, प्रभा, भूमिका, ईश्वरा, सञ्जीव, शर्मिला, सुवास, मिकेस, मदन, कलु, एलिसा, कम्मा, सविना, सरोज र सिम्बिजी सार्की बेपत्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा मङ्गलबार साँझ प्रहरी टोली पुगिसकेको छ ।

कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खड्क घर्तीमगर ३५ वर्षीय विक्रम घर्तीमगर, २६ वर्षीय खडक रानामगर र डोटीका ७४ वर्षीय वीरे रोकाया नदीमा बगेर बेपत्ता भएको बताइएको छ । अविरल वर्षासँगै प्रदेशका पहाडी क्षेत्रका जिल्लामा फोन इन्टरनेट सेवासमेत टुटेपछि सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

नेपाली सेना र प्रहरीको छुट्टै टोलीले पहिरो, बाढी, डुबानमा फसेकाको उद्धार कार्य जारी राखेको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा उद्धार कार्यमा बाधा अवरोध पुगेको छ । पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि उद्धार टोली समयमै घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । । पहिरोका कारण बझाङ, डडेलधुरा र डोटी जिल्लामा गरी १५ घर भत्किएर क्षति पुगेको छ । डुबान र पहिरोको जोखिममा परेपछि डडेलधुराको बडाल प्रहरी चौकीलाई गाउँपालिकामा, बझाङको बागथलाको अस्थायी प्रहरी पोष्ट नजिकको विद्यालयमा, कञ्चनपुरको झोलुङ्गे पुल छेउमा रहेको प्रहरीचौकी विद्यालयमा सारिएको छ । कैलाली र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रका वस्तीमा पानी पसेपछि हजारौ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै विपद्का घटनावाट बाजुरा, डोटी, डडेलधुरा, बझाङ जिल्लामा पशुचौपाया, लत्ताकपडालगायतमा समेत क्षति पुगेको छ । प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भित्र्याउन लागिएको ठूलो क्षेत्रफलको जग्गाको धानबाली डुबानमा परेर नष्ट भएको छ । नदी आसपासका खेतमा थुपारिएको धान नदीको बाढीले पूरै बगाएको छ । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । गए रातिदेखि वर्षा रोकिएपनि आकाश खुलेको छैन ।