जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–६ स्थित होटल सञ्चालन गरेर बसेका ४३ वर्षीय कार्कीले बुलेट ग्यास ट्याङ्की चालकसँग समन्वय गरी खाली सिलिण्डरमा ग्यास भरेर गाउँघरमा बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे । प्रहरीले निज भरत कार्कीको होटलबाट विभिन्न कम्पनीका खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको जनाइएको छ । ग्यास बोक्ने गाडी एनएल०१एनओ१३१ चालक चुनुकुमार, युपी७०बिटी ९९९६ का चालक विपिनकुमार र होटल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो पनि – डेंगु रोगले वडा सदस्यको निधन
रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो ।
उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ । वडा सदस्य सिंजालीको निधनमा दुख व्यक्त गर्दै गाउँपालिकाले आज पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ । सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।



प्रतिक्रिया