धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको हो । हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजाँदै गर्दा घाइते ११ वर्षीय सञ्जाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
मङ्गलबार राति करिब १२ बजे खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा उहाँसहित छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उहाँका नै वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ वर्षीय सञ्जालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
बाँकी घाइते पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण भेडेटार–६ नं बुधबारे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेलाई हेलिकप्टरमार्फत धरान लगिएको हो ।
यो पनि – विपद्बाट सुदूरपश्चिममा १९ को मृत्यु
अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज साँझसम्म १९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज साँझ उपलब्ध गराएको क्षतिको विवरणअनुसार बाढी, पहिरो, डुबानमा परी डोटीमा ११, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङ र कैलालीमा एक/एक जनाको मृत्यु भएको छ ।
यस्तै विपद्मा परी ११ जना घाइते भएका छन् । डोटीमा छ, डडेलधुरामा दुई बैतडीमा दुई र बझाङमा एक जना घाइते हुनुभएको छ । विपद्मा परी मृत्यु हुनेमध्ये पछिल्लो पटक सनाखत हुनेमा डोटीमा ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव ढुङ्गेल छन् । यस्तै बझाङका ७३ वर्षीय धनराज जोशी र कैलालीका ८६ वर्षीय करविरे ढोलीको पनि मृत्यु भएको पुष्टि भएको छ । घाइते हुने थप व्यक्तिमा डोटीका रमेश लुहार, भीम लुहार, करी ढुङ्गेल, बैतडीका सरस्वती विष्ट, माया विष्ट र बझाङका पदमादेवि जोशी छन् ।
बझाङको थलरा गाउँपालिका–४ मा गएको पहिरामा पुरिएर बेपत्ता भएका २३ जनाको खोजीकार्य जारी छ । बेपत्ताको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएकोे छ ।नदीमा बगेर बेपत्ता भएका कैलालीका दुई र डोटीका एक जनाको खोजीकार्य भइरहेको छ । माछा मार्न कैलालीको कर्णाली नदीतर्फ गएर बेपत्ता भएका तीन जनाको आज सकुशल उद्धार गरिएको छ । पहिराका कारण बझाङमा १२, डोटीमा तीन र डडेलधुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ । पहिराका कारण अवरुद्ध भएका विभिन्न सडकको पहिरो पञ्छाइ यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
विपद्सँगै प्रदेशका पहाडी कतिपय जिल्लामा अवरुद्ध बनेको फोन र इन्टरनेट सेवा आजदेखि आंशिकरुपमा सञ्चालन भएको छ । यता कैलालीको कर्णाली र मोहना नदीमा आएको बाढी डुबानमा परेका टीकापुर नगरपालिका–५ र ८ नं वडाका ८० घरका सदस्यलाई सकुशल नजिकको स्कुलमा सारिएको छ । कर्णाली र महाकाली नदीमा मङ्गलबार बढेको पानीको बहाव आज केही घटेको छ ।
कैलालीको ठूलीगाड नदीको दोभानमा दुई दिनदेखि फसेका दुई जना वर्षा रोकिएसँगै सुरक्षित रहेको जनाइएको छ । उक्त स्थानमा उद्धारका लागि आज गएको नेपाली सेनाको हेलिकप्टर उद्धार गर्नु नपर्ने भएपछि फिर्ता भएको थियो । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । आज वर्षा रोकिएपछि अपराह्नबाट घाम लागेको थियो ।



प्रतिक्रिया