बाढी पहिराले इलाममा आठको मृत्यु, सात बेपत्ता

बाढी पहिराले इलाममा आठको मृत्यु, सात बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई दिनको लगातार आएको वर्षापछिको पहिरामा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिराका कारण फाकफोकथुम गाउँपालिकामा एकै परिवारका चारसहित छ जनाको ज्यान गएको छ । फाकफोकथुम–३ आमचोकमा एकै परिवारका चार जनाको पहिराले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुईतले घरको भुइँतलामा सुतेका उनीहरूलाई पहिराले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । देउमाई नगरपालिका–२ की सरिता आचार्य, सूर्योदय नगरपालिकाका–३ जिलका नारायण मोते, माई नगरपालिका–३ का विशाल तामाङको मृत्यु भएको जनाइएको छ । त्यस्तै जिल्लामा सात जना बेपत्ता भएका छन् । बाढी, पहिराका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।

यो पनि – धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको हो । हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजाँदै गर्दा घाइते ११ वर्षीय सञ्जाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

मङ्गलबार राति करिब १२ बजे खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा उहाँसहित छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उहाँका नै वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ वर्षीय सञ्जालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

बाँकी घाइते पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण भेडेटार–६ नं बुधबारे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेलाई हेलिकप्टरमार्फत धरान लगिएको हो ।