प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जानुहुने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो । प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको विभिन्न जिल्लामा निरिक्षणपश्चात् कात्तिक ५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।
यो पनि – अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक÷पर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिनुभएको हो ।
“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला”, गृहमन्त्री खाँणले भन्नुभयो । वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।



प्रतिक्रिया