दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।

सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा “कोरोनासँगै जीउन सिकौँ” भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको हो । सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

यो पनि – कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाडो सर्ने

बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निश्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ ।

बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर सङ्क्रमितहरुको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरुले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।

साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् । कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हँुदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् ।