वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति

वर्षाले बागमती प्रदेशको धानबालीमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारणले बागमती प्रदेशको सात जिल्लाका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले लगाएको धानबालीमा क्षति पुगेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक एक अध्ययनले जनाएको छ ।

साथै दसैँलगत्तै सरकारी कार्यालय खुलेकाले कृषि प्राविधिक कर्मचारी परिचालन गरिएको र थप धानबाली क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्लामा अविरल वर्षाका कारणले धानबालीमा भएको क्षतिको विवरण आएको जनाइएको छ । थप विवरण आउँन बाँकी रहेको छ । उक्त मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार मकवानपुरमा १००, चितवनमा एक हजार ६३५, सिन्धुलीमा ९०, रामेछापमा ३०, नुवाकोटमा ३६, काभ्रेमा १५ र धादिङमा ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

बागमती प्रदेशको सात जिल्लामा रु तीन करोड ८२ लाख २० हजार मूल्य बराबरको धानबालीमा प्रारम्भिक क्षति भएको अनुमान छ । प्रदेशको कृषि मन्त्रालयले रु एक करोडसम्म विपद्का लागि राहत दिन बजेट छुट्याएको छ । मन्त्रालयलले क्षतिको पूरा विवरण आएपछि धानबालीमा लगाएको लागत रकम हिसाब गर्र्ने र सोहीअनुसार क्षतिपूर्तिका लागि लागतको २० प्रतिशतसम्म राहत दिने बताइएको छ । प्रदेशका १३ जिल्लामा ९४ प्रतिशत धानखेती गरिएको थियो । बागमती प्रदेशको स्थानीय तहका कृषि प्राविधिक, मन्त्रालय मातहतका कृषि निर्देशलाय र स्थानीय तहका कर्मचारीबाट क्षतिको विवरण सङ्कलन भइरहेको सूचना अधिकारी अनुपले बताउनुभयो ।

यो पनि – एक शताब्दीपछि धानखेत बगर बनेपछि…

कर्णाली, ८ कात्तिक (रासस) ः मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका–४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा हुनुहुन्छ । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उहाँको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ । सोही वडाका लालबहादुर सार्की र कर्णबहादुर हमालको घर नै बाढीले बगाउँदा उनीहरुको बिचल्ली भएको छ । तीन वर्षदेखि प्यारालाइसिस रोगले थलिएका कर्ण सुनारको कमाइ खाने खेतनै नदीमा परिणत भएपछि उहाँको परिवारमा ठूलो सन्ताप परेको छ । तातोपानी गाउँपालिका– ४ जुम्लाका देवीकृष्ण उपाध्यायको पनि धानखेत बगरमा परिणत भएका छन् ।

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले डुबेको धानबाली । तस्वीर ः शुरबहादुर सिंह, रासस

बाढीले तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि, वडा नं ७ को दुर्गा मावि मधु सुर्की सर्मी, ८ को कालिका मावि टोप्ला र तिला गाउँपालिका–४ नुवाकोटको सेतीवाडा मावि जुम्ला क्षतिग्रस्त बनाउँदा हाल त्यहाँको पठनपाठन ठप्प भएको छ । यसले बालबालिका र अभिभावक समस्यामा परेका छन् भने काठ र निर्माणाधीन झोलुङ्गे पुल बगाउँदा आवातजावत ठप्प भएको छ ।

तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका स्थानीय वीरबहादुर सिंहका अनुसार विसं १९८४ सालमा ठूलो क्षति भयो भन्ने सुनिएपनि यस्तो क्षति नभएको बताउनुभयो । “कात्तिक २ गतेको बाढीले गरेको क्षतिबाट धेरै घर परिवार सुकुम्बासी बन्ने अवस्था छ । वर्षभरिको मुख्यबाली धान सखाप परेपछि यो वर्ष भोकमरीले सताउने चिन्ता यहाँका नागरिकलाई बढेको छ”, उहाँले भन्नुभयो ।

सोही गाउँपालिका–४ नुवाकोट गाउँस्थित सेतीवाडा माविका शिक्षक यज्ञप्रसाद उपाध्यायले प्राकृतिक विपत्तिले करोडौँको क्षति गर्दा पनि सङ्घ र प्रदेश सरकार नपुगेको गुनासो गर्नुभयो । “बाढीले विद्यालय सञ्चालन गर्ने अवस्था छैन”, शिक्षक उपाध्यायले दुखेसो पोख्दै भन्नुभयो, “विद्युत्, घर, कुटानी, पिसानी मिल, पुल, स्याउ बगैँचा, पुर्खाले आर्जेको खेतीयोग्य जमिन सबै बगाएर लगेको छ । यस्तो पीडामा पनि माथिल्लो तहका सरकार नजिक आएका छैनन् ।”

स्थानीय गणेशकुमारी सिंहले यो वर्षको धानबाली बाढीले विनाश गरे पनि अर्को बाली लगाउला भन्ने आशा सकिएको बताउनुभयो । “बाढीले खेतमा मात्रै पुरेको भए पनि एक दुई वर्ष लगाएर खेत बनाउन सकिन्थ्यो होला”, सिंहले भन्नुभयो, “खेतमा नदी बगिरहेको छ, अब के गर्ने ? सरकारले हाम्रो दुःखमा सान्त्वना दिन पनि पुगेन ।”

यता जुम्ला ‘क’ बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्ला जिल्लामा उत्पन्न विपद् व्यस्थापनार्थ राहत र विशेष पुनःस्थापना प्याकेज अविलम्ब कार्यान्वयन गर्न, कर्णाली लोकमार्गको अविलम्ब कालोपत्र गर्ने कार्यका लागि सङ्घीय सरकारलगायत सम्बद्ध निकायसँग आवश्यक पहल, समन्वय गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध गरेको छ ।

जुम्लालगायत कर्णाली प्रदेशमा ई–टिकेट प्रणाली लागू गर्न, नियमित उडान भर्न, पारदर्शिता सुनिश्चित गर्न, हवाई क्षेत्रमा भइरहेको अनिमियतता रोक्न र जुम्लास्थित विमानस्थलको शीघ्र स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनसमेत मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गरेको प्रदेशसभा सदस्य भण्डारीले जानकारी दिनुभयो ।

वर्षाले दर्जनौँ घर भत्केका छन् । नदी किनारमा रहेका हजारौँ भारी खेतीयोग्य जमिन बाढीले बगर बनाएपछि अहिले यहाँका स्थानीयले पुर्पुरोमा हात राख्नुपरेको छ । दर्जनौँ काठका साँघु, स्याउ बगैँचा, सामुदायिक विद्यालय र खानेपानी, विद्युत् आयोजना बगाएर लगेको जुम्ला जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो ।“हामीले बाढीले गरेको प्रारम्भिक क्षतिबारे स्थानीय सरकारसँगको समन्वय सहकार्यमा प्रदेश तथा सङ्घ सरकारलाई पठाइसकेका छौँ”, प्रमुख जिल्ला अधिकारी प्रसाईंले भन्नुभयो, “विस्तृत विवरणका लागि विषयगत कार्यालय, गैसस तथा सम्बन्धित सरोकारवाला सम्मिलित प्राविधिक टोली क्षतिग्रस्त ठाउमा परिचालन गरिएको छ ।”

कर्णाली प्रदेश सरकारको कात्तिक ५ गते बसेको विपद् परिषद्को बैठकले एक हप्ताभित्र अविरल वर्षाका कारण आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट भएको सम्पूर्ण क्षति यकीन गरी पठाउन यहाँका १० वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण मृत्यु भएका परिवारलाई विपद् जोखिम बिमा उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।