दोर्दी–१ जलविद्युत् आयोजना: पुसबाट बिजुली उत्पादन गर्न थाल्ने

दोर्दी–१ जलविद्युत् आयोजना: पुसबाट बिजुली उत्पादन गर्न थाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम साताबाट लमजुङमा निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुनेभएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको यस आयोजनाको काम तीन महिनाभित्रै सम्पन्न हुने भएसँगै पुसदेखि बिजुली उत्पादन हुनेभएको हो । आयोजना प्रमुख उज्ज्वल सिलवालले भन्नुभयो, “आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ ।” हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने १० प्रतिशत मात्र काम बाँकी रहेकाले तीन महिनाभित्रै सम्पन्न गर्दै बिजुली उत्पादन हुने उहाँको भनाइ छ । बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेकाले अब पुस महिनाभित्रै बिजुली उत्पादन हुने उहाँले बताउनुभयो ।

यतिबेला विद्युतीय उपकरण जडान, पाइप जडान कार्य र वाइरिङको काम भइरहेको छ । विद्युत् उपकरण जडानको कार्य ९० प्रतिशत सम्पन्न भएको र अब एक महिनाभित्र काम सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये ५० मिटर पाइप जडान हुन बाँकी छ । यस आयोजनाको दुई हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भइसकेको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न भएको छ । आयोजनाको बिजुली १३२ केभी कीर्तिपुर सवस्टेशनमा जोडिने छ । बाँधस्थलबाट कीर्तिपुरसम्म साढे तीन किलोमिटर रहेको छ । यहाँ १५ वटा टावर राख्ने काम सम्पन्न भएको र अब तार जोड्ने कार्य मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

अधिकांश निर्माणका कार्य सम्पन्न गरिसकेको यस आयोजनाले यसअघि निर्माण कार्य लम्बिँदै गर्दा विद्युत् उत्पादन मिति पटकपटक म्याद राख्दै सार्दै आएको थियो । यसअघि गत असार महिनादेखि व्यावसायिकरूपमा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको थियो तर कोभिड तथा बाढीपहिराले आयोजनामा पु¥याएको क्षतिलगायतका कारण देखाउँदै आएको छ ।

गत असारमा आयोजनाको हेडबक्स, पावर हाउसलगायत विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेपछि पुनः निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रु दुई अर्ब २९ करोडको लगानीमा निर्माण कार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो तर निर्माण अवधि कोभिड बाढीपहिरोलगायत विविध कारणले गर्दा लम्बिन पुग्दा लागत बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त रकमभन्दा करिब रु ३० करोड बढी लाग्ने भएको छ । आयोजनामा हाल ७० जना कामदारले काम गरिरहेका छन् । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।