आज थप ७७६ लाई कोरोना संक्रमण, १३ जनाको मृत्यु

आज थप ७७६ लाई कोरोना संक्रमण, १३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक (रासस) : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ । पछिल्लो २४ घण्टामा ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत छ ।

आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन नौ हजार ६१७, संस्थागत आइसोलेशनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन् । आज नै ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यो पनि – नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम भने बढेन

काठमाडौँ, ८ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर ५०४.५७ मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने खासै उकालो लागेको छैन । कूल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर रु चार अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ४१ अर्ब ११ करोड ७८ लाख ५० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३७.४, व्यापार १५.८८, होेटल तथा पर्यटन ८१.८८, विकास बैंक ३०१.५, जलविद्युत् २००.८२, वित्त १७६.४९, निर्जीवन बीमा ४६७.६, उत्पादन १४३.३७, अन्य ४९.२९, लघुवित्त १२१.१३, जीवन बीमा ५३७.०१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.६७ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड २५ लाख २३ हजार ८५९ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु १३ करोड ४५ लाख ५५ हजार १४५, सिद्धार्थ बैंक रु १३ करोड १३ लाख ४३ हजार ३७४, नेशनल हाइड्रोपावर रु १२ करोड २६ लाख आठ हजार ८०९, नबिल बैंक रु ११ करोड ६५ लाख २५ हजार ८२० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

२० कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार सोमबारको कारोबारमा विभिन्न २० कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । त्यसमा गुर्खाज फाइनान्स, वेष्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहश्वरी मर्चेन्ट बैंक, मल्टीप्रर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, अरुण काबेली पावरलगायत कम्पनी रहेका छन् । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ४, मेरो माइक्रोफाइनान्स ३.९७, युनिलिभर नेपाल २, लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९१ प्रतिशतले गुमाए ।