बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल पुनरबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ । बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

यो पनि – बाढीपीडित भन्छन् : ‘तटबन्ध निर्माण नभए बस्ती पुनःस्थापना गरिदिनोस्’

–राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, ८ कात्तिक (रासस) : भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको घरमा शरण लिनुपर्ने बाध्यता उहाँका परिवारलाई भयोे । पाँच दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै समान बगाएकाले छिमेकीको शरणमा बस्न बाध्य गराएको हो । उहाँको घर भएको ठाउँमा अहिले महाकाली नदीले बगर बनाएको छ । घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकँुडा सबै बगाएर नदीले लगेपछि एकसरो लुगामा पन्त परिवार बस्दै आएका छन् ।

एक साताअघि महाकाली नदीमा आएको बेमौसी बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबारविहीन हुन पुगेका छन् । खल्ला श्रीलङ्का टोलका गणेशसिंह घटाल, वीरमान मङ्गोला र मानसिह महताको पनि घर बाढीले बगाएको छ । महाकाली नदीको भँगोलोमा आएको बाढीले ती परिवारको घर बगाएको थियो ।

श्रीलङ्का टोलका ४५ घर परिवारमध्ये छ परिवार पुनःस्थापनाको पर्खाइमा छन् । घरमा क्षति नभएका परिवारले पनि कटान र पटानसहित धानबाली गुमाएका छन् । “बस्ती जोगाउनका लागि तटबन्ध निर्माण नगर्दासम्म बस्ती जोगाउन सकिँदैन”, स्थानीयवासी प्रेमसिंह रावलले भन्नुभयो, “तटबन्ध निर्माण नभए अन्यत्र ठाउमा बस्ती पुनःस्थापन गर्नुपर्छ ।”

खल्ला, टुँडीखेल र मुसेट्टी महाकाली नदी किनारका बस्ती हुन् । टुँडीखेल उँचो स्थानमा भएकाले बाढीबाट जोगिएको हो । होचो भएकाले खल्ला र मुसेट्टीका बासिन्दा भने बाढीबाट पीडित भएका छन् । बाढी आएकै बेला फसेका मुसेट्टीका लक्ष्मणसिंह नायकसहित पाँच जनालाई सेनाकोे हेलिकप्टरबाट उद्धार गरिएको थियो । बाढीले नायकको घरसहित कुखुरा खोर बगाएको छ । महाकाली नदीको भँगालो घरमा पसेपछि उहाँका श्रीमती र दुई छोराले रातभरि ढुङ्गा र रुखमा बसेर ज्यान जोगाएका थिए ।

अहिले नायकको घर भएको ठाउँ बगर बनेको छ । नदीले बगाएर ल्याएका बालुवा, ढुङ्गा र काठ घरमा थुप्रिएका छन् । “हाइट हेर्दै दर्गुदै, पानीमा तैरिँदै गयाँै”, ३६ वर्षीय नायकले भन्नुभयो, “कम्मरसम्म पानी थियो, २÷३ बजेसम्म त आशै थियो, पछि त बाँचिदैन कि भन्ने लाग्यो ।”बढीले उहाँको घर र कुखुराको खोर पनि बगाएको थियो । घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ । “केही बाँकी रहेन, ज्यान त भगवान्ले बचायो”, उहाँले भन्नुभयो । बाढीले मुसेट्टीमा नायकसहित कृष्ण चन्द, हरिश साउँद, जनक साउँद, अमरसिंह खड्का र जय विष्टको घरमा पनि क्षति पु¥यायो । उहाँहरुमध्ये चन्दको घर भत्किएको छ । अन्यको घरभित्र बालुवा थुप्रिएर बस्न सकिने अवस्था छैन ।

खड्काकी धर्मपत्नी ६६ वर्षीय दीर्घमतीलाई नायकको परिवारसँगै उद्धार गरिएको थियो । गाई गोठमा बस्नुभएकी खड्का पनि बाढीमा फस्नुभएको थियो । बाढीले उहाँको एउटा गोठ बगाएको छ । घरभित्र भने बालुवा थुप्रिएको छ । घरभित्र पसेको बालुवा हटाउन नायक परिवार लागेको छ । “बाँच्न लेखेकै रहेछ । त्यही भएर बाच्यौँ”, उहाँले भन्नुभयो, “भगवान् बनेर नेपाली सेनाले आएर बचायो ।”

मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरीरमा लगाएको कपडाबाहेक अरु केही नबचेको बताउनुभयो । “एकसरो लगाएको कपडा मात्रै शरीरमा बाँकी छ । त्यति मात्रै बचेको हो । घर त भत्कायो अरु सबै सामान पनि बाढीले बगायो”, उहाँले भन्नुभयो ।बिरामी परेर छिमेकीका घरमा गएकाले आफू जोगिएको चन्दले बताउनुभयो । बाढीले चन्दको १५ कट्ठामा लगाएको धानबाली नष्ट भएकोे छ । मुसेट्टीकी विमला बमले बाढी आएपछि छिमेकीले आफूहरुलाई ब्युँझाएकाले भागेर सुरक्षित स्थानमा गएर ज्यान जोगउन सकेकोे पीडा सुनाउनुभयो ।

बाढीले बगाएर ल्याएको बालुवा बमको गोठभित्र थुप्रिएको छ । घरको तीन फिटसम्म पुगेको बाढीले केही काठका मुढा पनि घरसम्म ल्याएको छ । बमको घर अगाडिको जमिन बगर बनेको छ । बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ । “गोठमा बालुवा छ । जमिन केही राखेन, नागरिकता पनि बगायो”, उहाँले भन्नुभयो, “राज्यले हाम्रो व्यवस्था गर्नुपर्छ, त्यसैको आशमा छौँ ।”

मुसेट्टीमा मध्यराति १२ बजे बाढी बस्तीमा पसेको थियो । यसअघि विसं २०७० मा बाढीले बस्तीमा क्षति पु¥याएको थियो भने सात वर्षअघि बाढीले सरस्वती आधारभूत विद्यालय बगाएको थियो । विद्यालय बगाएको ठाउँ नजिक नायकसहित पाँच जना बाढीमा फसेका हुन् ।मुसेट्टीमा पाँच दर्जन घर परिवार बसोबास गर्दै आएका छन् । महाकाली नदी किनारमा खल्ला, टुँडिखेल र मुसेट्टीमा झण्डै ५०० घरपरिवार बस्दै आएको भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बताउनुभयो ।

अध्यक्ष नाथले बाढीबाट स्थानीयवासीले घरबारसहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएको बताउनुभयो । “केही बाँकी राखेको छैन । बाटोघाटो, बिजुली बत्ती, टावर सबै बगाएको छ”, उहाँले भन्नुभयो, “घर नभएर अर्काको घरमा बस्नुपर्ने अवस्था छ । खानलाई अन्न पनि छैन ।”नगर प्रमुख सुरेन्द्र विष्टले तीनवटै बस्तीलाई सुरक्षित बनाउनका लागि नदी नियन्त्रणको योजना आवश्यक रहेको बताउनुभयो । “त्यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं”, उहाँले जोड दिनुभयो, “तत्काल राहत र पुनःस्थापनाको कार्यलाई अगाडि बढाउँछौँ ।”खल्ला मुसेट्टीमा विद्युत्, सडक र सञ्चार सेवा बाढीका कारण अवरुद्ध रहेको छ । सडक बाढीको पानीले बगाउँदा अन्य क्षेत्रसँगको सम्पर्कसमेत विच्छेद भएको छ ।