महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । “ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई बढी प्रभावित गर्ने शङ्का छ”, उहाँले भन्नुभयो, “ यो बेलाफिष्टा भेन्टिलेटर बालबालिकादेखि सबैलाई काम लाग्छ ।”उहाँले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो ।

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गर्दै स्वास्थ्य वातावरण तथा जलवायु कार्य फाउण्डेशनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेत । अन्तरराष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेशन’को सहयोगमा कोरोना सङ्क्रमितको उपचारमा सहज होस् भनी फाउण्डेशनले देशभरिका सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ । सो संस्थालाई अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको थियो । “मुख्य सहयोगी संस्था भनेकै जु ची फाउण्डेसन हो”, वरिष्ठ पत्रकारसमेत रहनुभएका बस्नेतले भन्नुभयो,“हामीले यहाँ सामान मगाउने, वितरण गर्ने लगायतको काममा सहजीकरण गरेको हो ।”थप दुई थान भेन्टिलेटर थपिएसँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका डा भट्टले पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या घट्दै गइरहेको जानकारी दिनुभयो ।“सङ्क्रमित आउने र निको भएर जाने क्रम छ”, उहाँले भन्नुभयो,“एक जना सङ्क्रमित मात्रै यहाँ भर्ना भएका छन् ।”कोरोनाको पहिलो र दोस्रो चरणमा गरी कञ्चनपुरमा १९३ जनाले ज्यान गुमाएका थिए । यहाँ बालमैत्री कोभिड श्यया स्थापनाको काम समेत भइरहेको छ ।