काठमाडौं,९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९७७१ पीसीआर र २२४९ एन्टीजेन परीक्षणमा ६६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ८ लाख १० हजार २९८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९४ हजार २१५ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ७८ हजार ६३० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थ ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – खोटाङमा कोरोना सङ्क्रमित एकजना
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एकजनामा भरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा अहिले घटेर एकजनामा झरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष मात्र सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
निर्मलीडाँडाका सङ्क्रमित पुरुष अहिले होम आइसोलेशनमै उपचाररत रहेको जनाइएको । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि दशवटै स्थानीय तहमा निर्माण गरिएको २३४ श्य्याको संस्थागत आइसोलेशन खाली बनेको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले जानकारी दिनुभयो । विश्वभर फैलिएको कोरोना सङ्क्रमणबाट २० महिने बालिकासहित १५ जनाले ज्यान गुमाएको खोटाङमा अन्य सबै सङ्क्रमित विभिन्न ठाउँमा गरिएको उपचारपछि सङ्क्रमणमुक्त भएका हुन् ।
जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको छ । लामो समयसम्म बन्द गरिएको हलेसी मन्दिर खुला भएपछि भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको छ ।
पूर्वी पहाडी जिल्लामा खोटाङमा ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विसं २०६८ सालको जनगणना अनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनेगरी दशवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया