प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।
यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले रु दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा रु तीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो ।
वडाध्यक्षसहित दुई पुर्पक्षका कारागार
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
सोही मुद्दामै पक्राउ परेका वडासदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले रु एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेश पछि वडाध्यक्ष अमेरिका र रामआदेशलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताउनुभयो । गत साउन ३ गते ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलबाट ब्राउनसुगरसहित वडाध्यक्ष सहनी, वडासदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत साउन ३ गत राति १०ः३० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडाध्यक्ष सहनीले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो । यसैगरी उनको पछाडि ना६२प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडासदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया