सबै नागरिकलाई राष्ट्रिय परिचय पत्रको विवरण भर्न आह्वान

सबै नागरिकलाई राष्ट्रिय परिचय पत्रको विवरण भर्न आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कसैले पनि नछुटाइकन राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउन आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच आज भक्तपुर नगरपालिकामा भएको अभिमुखीकरण कार्यक्रम उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच भएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिलगायत । तस्वीर ः रमेश गिरी, रासस

उहाँले जिल्लाको सबै नगरपालिकाको वडा वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन भएकाले सबैले प्रत्येक व्यक्ति आफ्नै गाउँको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गर्नुभएको हो । प्रजिअ शर्माले भन्नुभयो, “व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको छ, नेपाली नागरिकता प्राप्त नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गर्दछु ।”

आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताउँदै उहाँले सरकारले हाल २० जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन गरिसकेको र १० जिल्लामा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १० अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औँठाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना सङ्कलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्कलनको काम गरिनुपर्नेमा जोड दिनुभयो ।

राज्यले दिने सम्पूर्ण सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याइएको बताउँदै उहाँले व्यक्तिको सम्पत्तिको सुरक्षा हुने तथा जालसाझी एवं किर्ते काम नियन्त्रण गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको क्रममा हुनसक्ने त्रुटीलाई ध्यानमा राखी आवश्यक संशोधनको व्यवस्था पनि गरिनुपर्नेमा जोड दिँदै उहाँले राज्यले सङ्कलन गरेका नागरिकका व्यक्तिगत विवरणहरु सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले राष्ट्रिय परिचयपत्र नागरिकको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने बताउनुभयो । भक्तपुर जिल्लाका सहायक प्रजिअ सीता परियारले राष्ट्रिय परिचयपत्र वितरण र विवरण दर्ताबारे आफ्नो प्रस्तुतीकरण गर्दै यो परिचयपत्र भौतिक तथा अनलाइन दुवै माध्यमबाट प्रयोग गर्न सकिने बताउनुभयो ।