गाडी भाडामा यात्रु ठगिएको गुनासो

गाडी भाडामा यात्रु ठगिएको गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर (पाल्पा), ९ कात्तिक (रासस) ः रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

युवा सङ्घका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गर्नुभयो । “गाडीधनीले मनपरी भाडा लिने गरेका छन्, कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन्” उहाँले भन्नुभयो ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको मनिराम पौडेलले बताउनुभयो । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ”, नगर प्रमुख थापाले भन्नुभयो ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागू गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने छ, म आफैँ पनि यात्रा गर्ने क्रममा रामपुर नगरभित्र चर्को भाडा तिरेर यात्रा गर्नुपरेको अवस्था छ ।”

नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताउनुभयो ।

केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उहाँले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गरे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताउनुभयो । यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्र गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले सबैमा आग्रह गर्नुभयो ।