महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
यो पनि – उदयपुरका ग्रामीण सडक अझै खुलेनन
दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ति सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताउनुभयो ।
दसैँ अघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेका कारण ति सवारीसाधन बाटोमै थन्किएको मगर बताउनुहुन्छ । उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले जानकारी दिनुभयो ।
ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र छन् । उनीहरु दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउनुहुन्छ ।



प्रतिक्रिया