दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ति सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताउनुभयो ।
दसैँ अघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेका कारण ति सवारीसाधन बाटोमै थन्किएको मगर बताउनुहुन्छ । उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले जानकारी दिनुभयो ।
ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र छन् । उनीहरु दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउनुहुन्छ ।
यो पनि – वर्षाले पाकेको मार्सीधान नष्ट
अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ ।तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ । तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् । मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सीधानमा क्षति पुगेको छ । सोही गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सीधान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताउनुभयो । यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ । तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ । करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ । पाँच हेक्टर खेत डुबानमा परेको छ । जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताउनुभयो । रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ ।



प्रतिक्रिया