अविरल वर्षाले केरा बगानमा क्षति

अविरल वर्षाले केरा बगानमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १० कात्तिक (रासस) : अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु २५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उहाँले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ ।

शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताउनुभयो । बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उहाँसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ ।

यो पनि – अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

कञ्चनपुर, १० कात्तिक (रासस) : अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए । “बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ”, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भन्नुभयो, “सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।”

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउनुहुन्छ । हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताउनुभयो । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उहाँको माग छ । बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् ।

यो पनि – वर्षाले पाकेको मार्सीधान नष्ट

अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ ।तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ । तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् । मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सीधानमा क्षति पुगेको छ । सोही गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सीधान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताउनुभयो । यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ । तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ । करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ । पाँच हेक्टर खेत डुबानमा परेको छ । जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताउनुभयो । रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ ।