सुदूरपश्चिम, १० कात्तिक (रासस) : धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्.या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले ह.त्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भन्नुभयो, “ह.त्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।” उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।
सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको ह.त्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।
यो पनि – उदयपुरका ग्रामीण सडक अझै खुलेनन
दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ति सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताउनुभयो ।
दसैँ अघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेका कारण ति सवारीसाधन बाटोमै थन्किएको मगर बताउनुहुन्छ । उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले जानकारी दिनुभयो ।
ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र छन् । उनीहरु दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउनुहुन्छ ।
यो पनि – वर्षाले पाकेको मार्सीधान नष्ट
अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ ।तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ । तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् । मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सीधानमा क्षति पुगेको छ । सोही गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सीधान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताउनुभयो । यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ । तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ । करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ । पाँच हेक्टर खेत डुबानमा परेको छ । जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताउनुभयो । रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ ।



प्रतिक्रिया