तनहुँ, १० कात्तिक रासस : व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ ।
मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि समितिले बुझाउनुपर्ने रकमका लागि ऋण माग गरिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट भएको छ । नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत खानेपानी संस्थाले बेहनुपर्ने हुँदा रकम जुटाउन नसक्दा ऋण लिएर आयोजना सम्पन्न गर्न लागेको समितिले जनाएको छ । संस्थाले जम्मा गर्नुपर्ने ३० प्रतिशतमा ५ प्रतिशत नगद जम्मा गरिसकेको र २५ प्रतिशत अपुग हुने देखिएपछि ऋण लिएर भए पनि वडावासीलाई पानी वितरण गर्ने लक्ष्य राखेको छ ।
ऋणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरी प्रक्रियामा राखिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “ऋण लिएपछि किस्ताबन्दी रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “उक्त आयोजना निर्माण सम्पन्न पश्चात व्यास नगरपालिका–१ का पूरै र वडा नं १२ का केही बासिन्दालाई दीर्घकालीन रुपमा खानेपानीको समस्याको अन्त्य हुन्छ ।”
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात भई हालसम्म २५०० बढी निजी धारा जडान गरिसकेको छ ।
यो पनि – ठूला दलको अधिवेशन : महिला नेतृत्व शून्य
– तारानाथ आचार्य, बलेवा, १० कात्तिक (रासस)ः प्रमुख दल (नेकपा एमाले) र नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बागलुङमा महिला नेतृत्व शून्य भएको छ । दसँैंअघि नेपाली कांग्रेसले गरेको दशवटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो ।
संविधानमानै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेका दलहरुलेनै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पुरयाउन सकेका छैनन्् । बागलुङमा जारी रहेको नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत ६ वटा स्थानीय तहमा पुरुष अध्यक्ष बनेका छन् ।
कांग्रेस र एमाले दुवैले जिल्लाका ८५ वडामध्ये कुनैपनि वडामा महिला अध्यक्ष निर्वाचित गर्न सकेनन् । दलहरुका विधानमा समेत ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि आफ्नै विद्यान विपरीत नेतृत्व चयन गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म एमालेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका बागलुङका ६ वटा पालिकामा पुरुषनै नेतृत्वमा आए । तमान खोला गाउँपालिकामा उपाध्यक्ष बाहेक अन्य पालिकामा उपाध्यक्ष समेत पुरुषनै भए । अधिवेशन हुन बाँकी रहेको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकमा पनि पुरुष नै नेतृत्वमा आकांक्षी छन् भने आजका लागि निर्वाचनको समय तोकिएको बागलुङ नगरपालिकामा ६ जना पुरुष अध्यक्षका आकांक्षी छन् ।
‘‘महिला प्रमुख हुन विधानमानै तोकिनुपर्ने हो र ? खै त नेतृत्वको सोच ?’’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा प्रविष्ट गरेको विचारले प्रस्ट हुन्छ महिला नेतृत्वमा आउन चाहन्छन् तर वातावरण छैन् । अखिल नेपाल महिला सङ्घ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताउनुभयो ।
नेतृत्वमा ल्याउनका लागि पहिलेदेखिनै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उहाँको तर्क छ ।
‘‘नेतृत्व पाइएन भन्ने मात्रै होइन त्यो खालको वातावरणनै बनेको छैन्, पुरुष जस्तो गरी राजनीतिमा पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउनुपर्छ’’, उहाँले भन्नुभयो,‘‘हामी सुरुआत गरेका छौं, आगामी अधिवेशनमा अहिलेको जस्तो शून्य उपस्थिति नरहला भन्ने आशा गरौं ।’’
महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषले पनि आवाज उठाउन थालेका छन् । “घरको कार्यक्रममा अबिर जात्रा जरूरी छैन हारजितको मनोभावनलाई भुलिदेउ र महिलाको ३३ प्रतिशत अधिकारलाई मुख्य पदमा सम्मानपूर्वक राखौं । मञ्चको चिल्ला भाषणले मात्र पार्टी बन्दैन है’’, बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष तथा एमालेका नेता राजन जिसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । पालिका र वडा तहको नेतृत्व छनोट हुँदा पदाधिकारी बाहेकका पदमा भने पार्टीले गणपुरक सङ्ख्या पु¥याउनका लागि महिला सहभागी गराउने गरेका छन् ।
दलहरुले नै बनाएको संविधानअनुसार स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर आफैले बनाएको विधि दलहरुले माननेन् । बागलुङमा स्थानीय तहको निर्वाचनका समयमा कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा भए । पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत मागेनन् । कानूनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखि मत माग्न लगाउनेसम्मका काम भए । फलस्वरुप बागलुङका चार वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुषनै छन् ।
कानूनी व्यवस्था भए पनि निर्वाचनको समयमा प्रक्रिया मिलाएर उनीहरु प्रमुख र उपप्रमुख भए । दुई फरक राजनीतिक दलबाट सहभागी छन् । स्थानीय तहमा महिलाको सहभागिता न्यून बनाएका राजनीतिक दलहरुले पार्टीको आन्तरिक निर्वाचनमासमेत वडा र पालिका तहमा महिलालाई नेतृत्व दिन सकेनन् । वडा र पालिकामा भएको अधिवेशनमा नेतृत्वमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्राय देखिए । महिलाले नेतृत्व नपाएको असन्तुष्टि त प्रश्स्तै छन् तर जाने ठाउँ छैन् । साना राजनीतिक दलहरुको तुलनामा बागलुङमा ठूला राजनीतिक दलमा महिला नेतृत्वमा कम आउने गरेका छन् ।



प्रतिक्रिया