मार्तडी, १० कात्तिक (रासस) : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ । कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ । खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ ।
बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिनुभयो । सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । जिल्लका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताउनुभयो ।
कुन पालिकामा कति जना ?
जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । नौ पालिकाका २३ हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । यहाँका बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।
यस्तै बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।
उहाँका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामीकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् ।
यो पनि – ‘मुलुकलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने जिम्मेवारी तरुणको हो’
काठमाडौँ, १० कात्तिक (रासस) : नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुण युवाको भएको बताउनुभएको छ । नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतले नेपाली जनताको लामो आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी युवाको भएको बताउनुभएको हो ।
“स्थापनाको झण्डै सातदशक लामो समयसम्म आइपुग्दा नेपाल तरुण दलको आवश्यकता र अपरिहार्यता दिनानुदिन अझ बढी महत्वपूर्ण बन्दै गएको छ”, विज्ञप्तिमा भनिएको छ । उहाँले सामाजिक न्याय, महिला हिंसा, सबैखाले उत्पिडनमा परेका नेपाली नागरिकलाई न्याय दिलाउन नेपाल तरुण दलले हिजोका दिनमा गरेका सङ्घर्षको स्मरण समेत गर्नुभएको छ ।
नेपाली जनताको मौलिक हक, अधिकारको रक्षाका लागि नेपाल तरुण दल सधैँ अग्र मोर्चामा उभिने अध्यक्ष बस्नेतको भनाइ छ । उहाँले नेपाल तरुण दलले स्थापना दिवसका अवसरमा संसारभर रहेका नेपाली युवा तरुणलाई आपसी भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्दै अगाडि बढ्न अनुरोध गर्नुभएको छ ।



प्रतिक्रिया