आज थप ६७२ जना सङ्क्रमित

आज थप ६७२ जना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को निधन भएको छ । त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन् । हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो पनि – बाजुरामा भेरोसेल खोप लगाइँदै

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ । कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ । खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ ।

बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिनुभयो । सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । जिल्लका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताउनुभयो ।

कुन पालिकामा कति जना ?

जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । नौ पालिकाका २३ हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । यहाँका बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।

यस्तै बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

उहाँका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामीकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् ।