बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण

बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय विकास स्रोत केन्द्र (भिडिआरसी) ले अमेरिकेर्यस फाउण्डेसनको सहकार्यमा बालबालिकालाई केन्द्रित गरेर निर्माण गरेको बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ । गैँडाकोट नगरपालिका–११ स्थित अस्पतालको भवनमा निर्माणपछि आवश्यक निर्माण सामग्रीसहित व्यवस्थापन भएको सात शय्याको बाल वार्ड हस्तान्तरण गरिएको हो ।

अमेरिकेयर्ससँगको सहकार्यमा विजय विकास स्रोत केन्द्रद्वारा निर्मित बाल उपचार कक्ष गैंडाकोट नगरपालिकालाई हस्तान्तरण गर्दै । तस्वीर ः कृष्ण सापकोटा, रासस

बाल वार्ड हस्तान्तरण कार्यक्रममा नगर प्रमुख छत्रराज पौडेलले कोभिडको महामारीमा स्वास्थ्य कर्मचारी, जनप्रतिनिधि र देश विदेशमा रहेका सबैको सहयोग तथा सहकार्यबाट कोभिडविरुद्ध लड्न सकेको बताउनुभयो । उहाँले विजय विकास स्रोत केन्द्रले बालबालिकालाई केन्द्रित गरेर बालमैत्री उपचार कक्ष बनाउन सहयोग गर्नु प्रशंसनीय काम भएको बताउनुभयो । गैँडाकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले कोभिड–१९ बाट बालबालिकाका सुरक्षित राख्न बाल वार्डका लागि सहकार्य गरिएकाले यो सराहनीय काम भएको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका पूर्वअध्यक्ष तथा विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.का अध्यक्ष खेमराज सापकोटाले सबैजना मिलेर अघि बढ्दा स्रोत, सीप र संयोजनका माध्यमबाट गर्न सकिन्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको सुनाउनुभयो । एउटा बालक स्वथ्य हुनु भनेको भोलि देशका लागि धेरै वर्ष योगदान गर्नसक्ने स्वथ्य नागरिक बन्न रहेको उहाँको भनाइ थियो ।

अमेरिकेयर्ससँगको सहकार्यमा विजय विकास स्रोत केन्द्रद्वारा निर्मित बाल उपचार कक्ष गैंडाकोट नगरपालिकालाई हस्तान्तरण गर्दै । तस्वीर ः कृष्ण सापकोटा, रासस

केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले विजय विकास स्रोत केन्द्रले समाजप्रति सक्रिय भई सामाजिक जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । उहाँले उपचार कक्षकोे सेवा सुविधालाई चुस्तदुरुस्त बनाइ गणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले कोभिडको एकदमै प्रभाव रहेको सुरुआती अवस्थामा गैँडाकोटवासी पछि विदेशमा रहेका व्यक्ति र अहिले अमेरिकेयर्ससँगको सहकार्यमा स्वास्थ्य सेवा प्रदान गरिएको बताउनुभयो ।

बाल केन्द्रित कोभिड–१९ आपत्कालीन परियोजनाअन्तर्गत गैँडाकोट नगर अस्पताल र नवलपुरको जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा बालबालिकाका लागि सात शय्याको बाल वार्ड, चिकित्सकको व्यवस्था, मनोपरामर्श, विद्यालयमा सचेतना कार्यक्रम, स्वास्थ्य सामग्री वितरण, निःशुल्क एम्बुलेन्स सेवा, चेतनामूलक रेडियो कार्यक्रम सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नगर अस्पतालमा बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा ब्रजेशराज चौधरीले नियमित बिहान ७ बजेदेखि जाँच गर्दै आउनुभएको छ । यहाँ दैनिक १५ देखि २० बालबालिकाको स्वास्थ्य जाँच भइरहेको अस्पतालका प्रमुख इन्द्र शर्माले जानकारी दिनुभयो । सो अवसरमा अस्पतालमा एम्बुलेन्स खरिदका लागि विदेशमा रहेर अभियान सञ्चालन गर्ने स्थानीय शङ्कर सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष देवीदत्त कँडेल, पदमलाल पौडेललगायत जनप्रतिनिधि एवं स्थानीय सङ्घ संस्थाका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो ।