पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा

पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ । तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो । उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को सीमा निबुखोलामा रहेको छ । यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले उक्त पुलमा क्षति पु¥याएको थियो । पुलको मूल संरचनामा क्षति नभएको तर जमिनतर्फको भाग बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । बाढीले बगाएको भाग ढुङ्गा र माटो हालेर तत्कालका लागि यातायात सेवा सञ्चालन गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कुम्मायक र तुम्बेवा गाउँपालिकासहित फाल्गुनन्द गाउँपालिकाका केही वडालाई सदरमुकामसम्म जोड्ने उक्त पुलमा क्षति हुँदा एक सातासम्म आवतजावत ठप्प भएको थियो । फिदिम–यासोक सडक सञ्चालनमा आए पनि उत्तरे–यासोक सडक तथा यासोक–मुलघाट सडक सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरा गएको छ । पहिराले अवरुद्ध मेची राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ । जिल्लामा बाढी र पहिराबाट ३१ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता छन् । बाढी र पहिराले भौतिक संरचना, कृषि उपजलगायतमा क्षति पुगेको छ । आठवटै स्थानीय तहमार्फत बाढी र पहिराबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि – कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताउनुभयो ।

“अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।” कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ । ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ । धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् । किसानले घरमा कुन्यु बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ ।

किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताउनुभयो । “परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरुको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ”, रानाले भन्नुभयो, “बाली काटेर थ्रेसर लगाउभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो ।” कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई÷तीन दिनभित्र क्षतिको यकिन विवरण आउने जनाएको छ ।

यो पनि – मादीका बाढी पीडितलाई राहत

गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गर्नुभयो ।

गत असार १ गते मादी नदीमा आएको बाढीले पूर्ण क्षति पु¥याएका ११ घर परिवारलाई जनही रु एक लाखका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गर्नुभयो । बाढी पहिराले घर पूर्ण क्षति पु¥याउनेलाई मनाङका हकमा रु दुई लाख र अरु जिल्लाका हकमा रु एक लाख उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो ।

कार्यक्रममा भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ र दूधराज गुरुङलाई मुख्यमन्त्री पोखरेलले राहत प्रदान गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुःखमा सधैँ साथमा रहेको जनाउँदै तीन तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र रहेको तथा प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।

बिना विभागीयमन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ति आएको जनाउँदै विपत्तिको सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताउनुभयो ।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको र ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य तेजकुमारी पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी–१ का वडाध्यक्ष सुरज गुरुङ, वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङलगायतले बाढी पीडितलाई सरकारले प्रदान गरेको राहतले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।