बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । उहाँ २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको छ । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।
ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उहाँ बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । उहाँको खोला किनारमा खोजी भइरहेको छ ।
यो पनि – बझाङ पहिरो : बेपत्ता १९ जना भेटिएनन
थलारा गाँउपालिकामा पहिरोमा परि बेपत्ता भएका व्यक्ति भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ । दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ ।
घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताउनुभयो । “जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ”, उहाँले भन्नुभयो । आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
वडाध्यक्षको निधन
बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ ।श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिनुभयो । उहाँ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।



प्रतिक्रिया