काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि- भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता
बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । उहाँ २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको छ । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।
ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उहाँ बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । उहाँको खोला किनारमा खोजी भइरहेको छ ।



प्रतिक्रिया