ताकममा अस्पताल भवन निर्माण सुरु

ताकममा अस्पताल भवन निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु भएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले १६ कोठे भवन निर्माण सुरु भएको जानकारी दिनुभयो ।

“आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो”, उहाँले भन्नुभयो “आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार ३३४ मा ठेक्का सम्झौता गरेको छ । विद्युतीय माध्यमबाट भएको ठेक्का प्रतिस्पर्धामा छवटा कम्पनी सहभागी थिए । गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान (डिपिसी) सकेको छ ।

निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । विसं २०७७ पुसमा भएको धवलागिरिको विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । निर्णयानुसार गत वर्षदेखि नै ताकम स्वास्थ्यचौकीमा स्थापना भएको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइएको छ । एक चिकित्सक, दुई नर्सका साथै ताकम स्वास्थ्यचौकीका मौजुदा जनशक्तिले सेवा दिइरहेका छन् । धवलागिरिको वडा नं ७ मै पर्ने अर्को बस्ती धारापानीमा गत वर्ष स्थापना भएको स्वास्थ्यचौकी र वडा नं ३ मुना स्वास्थ्यचौकीको भवन पनि निर्माण भइरहेको छ ।

ताकममा अस्पताल सञ्चालन भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरिका बासिन्दालाई स्वास्थ्योपचारमा सहज भएको छ । चिकित्सकको सेवाका लागि दरबाङ, बेनी, बागलुङ, पोखरालगायत बजारमा पुग्नुपर्ने बाध्यता कम भएको छ । गाउँगाउँमा चिकित्सक पुगेर घुम्ती शिविर सञ्चालन गरी सेवा दिएका छन् ।

धवलागिरिको ताकमका साथै मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन् । मङ्गलाले अर्मन स्वास्थ्यचौकीको भवन परिसर र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल भवन निर्माण गर्न लागेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०÷७० लाख, रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५÷८५ लाख बजेट पठाएको थियो ।