काठमाडौँ, ११ असोज (रासस) : पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्साल १९९७ साल वैशाख ९ गते काठमाडौँमा जन्मिनुभएको थियो । उहाँले २०१८ पुस २ गते न्याय सेवामा प्रवेश गर्नु भई २०४४ सालमा मध्यमाञ्चल क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश हुँदै २०४९ असार १ गते पुनरावेदन अदालत नेपालगञ्जको मुख्य न्यायाधीश भएर काम गर्नुभएको थियो । उहाँले २०५४ साउन १७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भई २०५५ चैत ५ गते स्थायी न्यायाधीशमा नियुक्ति भएर २०६२ वैशाख ८ गते उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।
अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व न्यायाधीश लम्सालको शोकमा शुक्रकुनै पनि सुनुवाइ हुने छैन ।
यो पनि – पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
पाल्पा, ११ कात्तिक (रासस) ः पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रुपमा व्यावसायिक रुपमा घाँसखेती गरी रु १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।
विगत केही वर्षदेखि घाँसको बीउ र घाँस बिक्री गर्दै आउनुभएका तानसेन–५ अर्चलेकी मीना सोमैले घाँस बिक्री गरेर वार्षिक रु २० हजार आम्दानी गर्दै आउनुभएको छ । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँसखेतीबाट पहिलो वर्ष नै उहाँले वार्षिक रु २० हजारभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।”
विगतमा धान तथा मकैखेती गरे पनि बाँदरको समस्याले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा यस वर्ष त्यही खेतबारीमा रोपिएको घाँस खेतीबाट राम्रो आम्दानी लिन सफल भएको उहाँको भनाइ छ । मनग्य आम्दानी लिन सफल भएपछि घाँस खेतीतर्फ लोभ्याएको उहाँले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी क्षेत्रफलमा लगाउने योजना बनाएको बताउनुभयो ।
पाल्पामा व्यावसायिक रुपमा पशुपालन गर्ने सङ्ख्या पनि बढेको छ । गाईभैँसीपालन, बाख्रापालन, बङुगुरपालनको सङ्ख्या बढेको हो । पशुपालन बढेसँगै घाँसको माग समेत उच्च रहेको पाइन्छ । सुपर नेपियरको तीन आँख्लालाई ५ रुपैयाँमा बिक्री हुँदै आएपछि महिला उत्साहित भएका छन् ।
तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घको सहयोग तालिम, घाँसको बीउ लगायतको सहयोग पाएपछि यहाँका महिला व्यावसायिक रुपमा घाँसखेती गरी गरिबी हटाउन लागिपरेका हुन् । तानसेन–५ अर्चलेस्थित आदर्श स्वालम्बन महिला समूहले गरेको व्यावसायिक घाँसखेतीबाट यसपाली रु दुई लाख आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष निर्मला हमालले बताउनुभयो ।
घाँसको बिरुवा बिक्रीबाट ठूलो आम्दानी हात परेपछि समूहका सदस्यले समेत निजी जग्गामा व्यावसायिक रुपमा खेती गर्न थालेको समूहकी अध्यक्ष हमालले बताउनुभयो । घाँस खेतीपछि व्यावसायिक रुपमा बाख्रापालनसमेत यस क्षेत्रमा फैलिएको छ । पोषणयुक्त घाँस पशुपक्षी खुवाउँदा छिटो हुर्किने गरेको अनुभव हमालले सुनाउनुभयो । “पहिला अरुले घाँस बेचेको सुनिएको थियो, अहिले आफैले घाँस बेचियो, दुई लाख आम्दानी भएपछि काम गर्न थप उत्साह जागेको छ,” हमालले भन्नुभयो । आदर्श स्वालम्बन महिला समूहमा अहिले तीन जना भन्दा बढी महिला आवद्ध रहेका छन् । समूहले घाँसको नर्सरीसमेत स्थापना गरी सदस्यलाई बिरुवा वितरण गर्दै आएको छ ।
घाँस बिक्रीबाट सङ्कलन भएको रकम समूहका महिला सदस्यको हितमा लगानी गर्दै आएको छ । बाख्रा तथा कुखुरापालनका निम्ति खोर निर्माण गर्न ऋण सहयोग गर्दै आएको समूहकी सदस्य लेखकुमारी सोमैले बताउनुभयो । ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाले घाँसखेती गरी आम्दानी गरेसँगै सामाजिक सांस्कृतिक, आर्थिक हैसियत सुधार भएको बताउनुभयो । उहाँले महिला आत्मनिर्भर हुँदै गएको परिवारमा खुसी ल्याएको बताउनुभयो । घाँसखेती तानसेन नगरपालिका–१, ५, ९, ११, १२ मा महिलाले समूह गठन गरी व्यावसायिक रुपमा घाँसखेती गरेका छन् । ६० रोपनी भन्दा बढी क्षेत्रफलमा गरिएको घाँस खेतीबाट झण्डै सय भन्दा बढी लाभान्वित भएको सङ्घले जनाएको छ ।
तानसेन नगरपालिकाभित्र रहेका पाँच समूहमार्फत गरिएको घाँसखेती पशुपालन सहजता ल्याएको र पोषणयुक्त आहाराका रुपमा सुपर नेपिर खुवाउने चलन पशुपक्षी उत्पादनमा राम्रो हुने विज्ञको भनाइ छ । व्यावसायिक पशुपालनसँगै घाँस खेतीतर्फ जिल्लावासीको आकर्षण बढ्दो छ ।
–––



प्रतिक्रिया