स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले आज विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । आज साँझ भक्तपुरको दरबार स्क्वायर आइपुगेको स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वाग्मती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गर्नुभयो ।
डेलगाडोसहितको टोली र बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई नगरप्रमुख प्रजापतिले खादा ओढाएर भादगाउँले टोपी लगाई पुप्पगुच्छा प्रदान गर्दै दरबार स्क्वायर गेटमा स्वागत गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले स्वागतस्वरूप भक्तपुर दरबार स्क्वायर डबलीमा प्रदर्शन गरेको माक प्याँख, नागचा प्याँख र जङ्गली प्याँख नाच सभामुख डेलगाडोको टोलीले रुचिपूर्वक अवलोकन गर्नुभयो । नगरपालिकाले भ्रमण टोलीलाई भक्तपुरको जुजु धौँ खुवाएको थियो ।
सभामुखको टोलीलाई नगरपालिकाका गौतम लासिवासहितको टोलीले दरबार स्क्वायर, पशुपतिनाथको मन्दिर, टौमढीस्थित पाँचतले मन्दिर क्षेत्रको अवलोकनका क्रममा सम्पदाका बारेमा जानकारी गराएको थियो । टौमढीस्थित पाँचतले मन्दिर डबलीमा सभामुख डेलगाडोलाई नगरप्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुँर झ्याल उपहारस्वरुप प्रदान गर्दै बिदाइ गर्नुभएको थियो ।
अपराह्न ४ बजे दरबार स्क्वायर आउने र ६ बजेसम्म भक्तपुरको अवलोकन गर्दै दत्तात्रय मन्दिरसम्म अवलोकन गराउने कार्यक्रम तय भए पनि टोली ५ः१० मा मात्रै भक्तपुर आइपुगेको र ६ः२० मा फर्केपछि दत्तात्रयसम्म नपुगी टौमढीबाटै बिदाइ गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
बागमती प्रदेशसभाका सभामुख श्रेष्ठको निमन्त्रणामा सभामुख डेलगाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आगामी १६ गते स्पेन प्रस्थान गर्ने गरी छ दिने नेपाल भ्रमणमा आज काठमाडौँ आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले टोलीलाई स्वागत गर्नुभएको थियो ।
टोलीले नेपाल भ्रमणका क्रममा विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ भने पाटन दरबार क्षेत्रको भ्रमणपछि भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेको हो ।
भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा नारायण खड्का, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
–––



प्रतिक्रिया