निःशुल्क रगतले बिरामीलाई सहज

निःशुल्क रगतले बिरामीलाई सहज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ । रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । “नागरिकता र अस्पतालको सिफारिसका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेका रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । जिल्लामै सबै रगत भने खपत हुँदैन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा रगत पठाउने गरिएकामा पछिल्लो समय जिल्लाकै अस्पतालमा रगतको खपत बढ्दै गएको अग्रहरीले बताउनुभयो ।

स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैँले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि सहज रुपमा रगत पाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।रेडक्रसले रक्तदानको महत्व बुझाउन गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । वडा वडामा सचेतना गोष्ठी सञ्चालन गर्ने तयारी रहेको अग्रहरीले बताउनुभयो ।

अग्रहरी दम्पतीद्वारा दश लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सभापति राजेन्द्रप्रसाद अग्रहरी र उहाँकी धर्मपत्नी गायत्री अग्रहरीले शाखालाई रु दश लाख सहयोग गर्नुभएको छ । राजेन्द्रप्रसाद–गायत्री अग्रहरी अक्षयकोष स्थापनाका लागि अग्रहरी दम्पतीले उक्त रकम रेडक्रसलाई हस्तान्तरण गर्नुभएको हो । अग्रहरी दम्पती लामो समयदेखि रेडक्रसको माध्यमबाट सामाजिक र मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ ।