धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।
यो पनि – बाढी पहिराबाट मृत्यु भएका परिवारलाई सहयोग
जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौँ घरमा क्षति पुगेको थियो । सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी र पहिराले तहस नहस बनाएको छ, कयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौँ ।”
उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो । वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्णरुपमा बन्द भएका छन् । भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताउनुभयो ।



प्रतिक्रिया