काठमाडौँ, १२ कात्तिक (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।
पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
छ को मृत्यु
यसैगरी आज कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।
आज एक लाख २५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
यो पनि – आर्मी सेमिफाइनलमा प्रवेश
नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे ।
राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए । यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरिले खेलको ४९औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन ।आर्मीका हरि महतो ‘म्यान अफ द म्याच’ घोषित भए । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउनेछन् ।
यो पनि – चन्दाले बन्यो पुस्तकालय
विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनःनिर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाले सहयोग सङ्कलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनःनिर्माण गरिएको वडाध्यक्ष नारायणध्वज मल्ल्ले बताउनुभयो । पुस्तकालयसँगै युवाले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् । गलकोट समाज जापानका युवाले सङ्कलन गरेको रु ६५ लाखसहित स्थानीयसमेतको सहयोगमा रु एक करोडको लागतमा उक्त तीन तले पुस्तकालय पुनःनिर्माण गरिएको हो ।
हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग जोडिएको सो पुस्तकालय ऐतिहासिक हो । विसं २००७ मा सहीद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गर्नुभएको सो पुस्तकालयमा ऐतिहासिक पुस्तक रहेका छन् । पुस्तकालय इतिहासको साछी भएको स्थानीय बताउँछन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृति बारेका किताब छन् । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ ।
नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयका रुपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्तावेज सङ्कलनको कामसमेत गरेको छ । गलकोटस्थित तत्कालीन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्न पुस्तकालयमा आवश्यक सामग्री राखिएको देवी बोहोराले बताउनुभयो । उक्त पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामानसमेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो । पुस्तकालय बनेपछि दैनिक अध्ययन गर्न जानेको सङ्ख्या बढेको छ ।



प्रतिक्रिया