त्रिशूली, १२ कात्तिक (रासस) : नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका व्यक्तिबाट सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणमा ५५ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको हो ।
विदुर नगरपालिकामा हाल ६३ र बेलकोटगढीमा नौ सक्रिय सङ्क्रमित छन् । किस्पाङ र सूर्यगढीमा आठ÷आठ, तारकेश्वर, ताँदी र म्यागङमा चार÷चार तथा लिखुमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका भने कोरोना सङ्क्रमित छैनन् । सङ्क्रमित ११ जनालाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ । दश जनालाई स्थानीय तहको आइसोलेसन केन्द्रमा राखिएको छ । बाँकी ८१ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।
यो पनि – वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजिनामा
वाग्मती, १२ कात्तिक (रासस) : वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिनुभएको छ । उहाँले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिनुभएको भएको हो । नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिनुभएको हो ।
एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिनुभएको हो । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उहाँ मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उहाँले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताउनुभयो ।
यो पनि – आर्मी सेमिफाइनलमा प्रवेश
नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे ।
राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए । यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरिले खेलको ४९औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन ।आर्मीका हरि महतो ‘म्यान अफ द म्याच’ घोषित भए । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउनेछन् ।
यो पनि – चन्दाले बन्यो पुस्तकालय
विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनःनिर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाले सहयोग सङ्कलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनःनिर्माण गरिएको वडाध्यक्ष नारायणध्वज मल्ल्ले बताउनुभयो । पुस्तकालयसँगै युवाले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् । गलकोट समाज जापानका युवाले सङ्कलन गरेको रु ६५ लाखसहित स्थानीयसमेतको सहयोगमा रु एक करोडको लागतमा उक्त तीन तले पुस्तकालय पुनःनिर्माण गरिएको हो ।
हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग जोडिएको सो पुस्तकालय ऐतिहासिक हो । विसं २००७ मा सहीद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गर्नुभएको सो पुस्तकालयमा ऐतिहासिक पुस्तक रहेका छन् । पुस्तकालय इतिहासको साछी भएको स्थानीय बताउँछन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृति बारेका किताब छन् । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ ।
नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयका रुपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्तावेज सङ्कलनको कामसमेत गरेको छ । गलकोटस्थित तत्कालीन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्न पुस्तकालयमा आवश्यक सामग्री राखिएको देवी बोहोराले बताउनुभयो । उक्त पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामानसमेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो । पुस्तकालय बनेपछि दैनिक अध्ययन गर्न जानेको सङ्ख्या बढेको छ ।



प्रतिक्रिया