म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक (रासस) : म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो ।

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ । कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

अनुगमनमा खटिनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पु¥याउन सक्ने बताउनुभयो । “समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ । विगत पाँच दिनदेखि गरिएको अनुगमनका क्रममा समस्या विनाको कुनै पसल फेला नपरेको बताइएको छ ।

यसअघि पनि कामपाले चार पसललाई नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र अखाद्य वस्तु मिसाएको भन्दै करिब रु एक लाख जरिवाना गराइसकेको छ ।

यो पनि – चोरिएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ, १२ कात्तिक (रासस) : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जनाएको छ ।

सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ । सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । उहाँले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्याङ्कले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (विलबुक) डिक्की मै राख्ने गरेको र चाविसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ । त्यसैले प्रहरीले जथाभावी पार्किङ्ग नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ्ग नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न १९ जनालाई कारवाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ ।