मकवानपुर, १२ कात्तिक (रासस) : मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो । निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ ।
साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पु¥याइदिन सबैलाई आग्रहसमेत गरेको छ ।
यो पनि – जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै
बझाङ, १२ कात्तिक (रासस) : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।
केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथिभेरा–१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी सुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले जानकारी दिनुभयो ।
अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ ।



प्रतिक्रिया