काठमाडौँ, १२ कात्तिक (रासस) : काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङसहित ६ जनालाई कौडा खेलिरहेको अवस्थामा गए राति पक्राउ गरिएको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र रु तीन लाख ६३ हजारसहित पक्राउ गरिएको हो ।
यो पनि – नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे
त्रिशूली, १२ कात्तिक (रासस) : नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका व्यक्तिबाट सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणमा ५५ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको हो ।
विदुर नगरपालिकामा हाल ६३ र बेलकोटगढीमा नौ सक्रिय सङ्क्रमित छन् । किस्पाङ र सूर्यगढीमा आठ÷आठ, तारकेश्वर, ताँदी र म्यागङमा चार÷चार तथा लिखुमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका भने कोरोना सङ्क्रमित छैनन् । सङ्क्रमित ११ जनालाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ । दश जनालाई स्थानीय तहको आइसोलेसन केन्द्रमा राखिएको छ । बाँकी ८१ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।



प्रतिक्रिया