नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक (रासस) : सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ÷प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गर्नुभएको थियो भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह मन्त्रालयका साथै नेपाली सेना र भारतीय सेना तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो ।

यसैबीच, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ तुल्याउन उपयोगी रहेको तथा द्विपक्षीय सुरक्षा चसोका विषयलाई सम्बोधन गर्न फलदायी भएको जनाएको छ । दुई पक्षीय सुरक्षा चासोका विषयमा सहसचिवस्तरमा छलफल गर्न १८ वर्षअघि गठन भएको नेपाल–भारत परामर्श समूहको कोभिड–१९ को महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेको थिएन ।

यो पनि – प्रधानमन्त्री देउवा दोहामा

–विशेष प्रतिनिधि भीष्मराज ओझा दोहा, १२ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुग्नुभएको छ ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उहाँ लण्डनमा शनिबार र आइतबार रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारयाण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, प्रधानमत्रीका निजी सचिव जनकराज भट्टलगायत अन्य उच्च कर्मचारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत, सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

यही अक्टोबर ३१ देखि नोभेम्बर १२ तारेखसम्म ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ र २ तारेखमा ‘वल्र्ड लिडर समिट’ आयोजना गर्न लाग्नुभएको हो ।