काठमाडौँ, १२ कात्तिक (रासस) : बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै उहाँले अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने आश्वासन दिनुभएको छ । सङ्गठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकाले सम्बोधनको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा परेका थिए । ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपाङ्गको बर्गिकरण गरी प्ररिचयपत्र प्रदान गर्नुपर्ने सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितलाई निःसर्त रिहा र आममाफीलगायत माग राखिएको छ ।
यो पनि – ‘दुङाल’ उपन्यासबारे अन्तरसंवाद कार्यक्रम
काठमाडौँ, १२ कात्तिक (रासस) : साहित्यमा नयाँ प्रयोगका रुपमा लेखिएको उपन्यास ‘दुङाल’ लाई अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद गरिनुपर्नेमा जोड दिइएको छ । पुस्तकका विषयमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक प्रा डा रमेश ढुङ्गेलले पुस्तक दुवै भाषामा अनुवाद गरिए यसले उठाएको तिब्बती शरणार्थीको विषयमा विश्वव्यापी चर्चा भएकाले पाठक बढ्ने बताउनुभयो । शरणार्थी साहित्यका रुपमा लेखिएको पुस्तक ‘दुङाल’ ले नेपालमा ठूला लामा आएको र ठाउँ ठाउँमा गुम्बा बनेको विषयलाई पनि उजागर गरेको उहाँले सुनाउनुभयो ।
तिब्बती संस्कृति र परम्पराको सम्मिश्रणका रुपमा रहेको पुस्तकमा प्रयोग गरिएको ‘भोटिनी’ र ‘नेपाली केटो’ जस्ता शब्दले जीवन्त साहित्यिक कृतिका रुपमा पुस्तकप्रति पाठकको चासो बढ्ने ढुङ्गेलको भनाई थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भुटानी शरणार्थी आन्दोलनका माध्यमबाट चिनिएको उल्लेख गर्नुहुँदै तिब्बती शरणार्थी साहित्यका माध्यमले चिनिने वातावरण बनेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक प्रोपोगाण्डा र यौन साहित्यका पुस्तक बढी बिक्री भएका बेला मान्छेले भोगेका समस्याका बारेमा लेखिएको पुस्तक ‘दुङाल’ पनि धेरै बिक्री हुने पुस्तकको सूचीमा सूचिकृत भएको बताउनुभयो । पत्रकार एवं समीक्षक राजकुमार बानियाँले लेखकले पूर्व स्मृतिका विषय समेटेर मानवीय समस्यालाई उपन्यासमा प्रस्तुत गरेको बताउनुभयो ।
तिब्बती शरणार्थी टासी छिरिङले पुस्तक पढ्दा आफ्नै जीवन कथाजस्तो लागेको अनुभव सुनाउनुभयो । परिचय पत्रसमेत नपाउँदा बैङ्क खाता खोल्न नपाएका जस्ता विषय साहित्यका माध्यमबाट सार्वजनिक हुँदा आफूहरुको जीवनस्तरमा परिवर्तन आउने आशा गरिएको बताउनुभयो । उपप्राध्यापक टिएन भट्टले औपन्यासिक रुपमा शरणार्थीका समस्या देखाउन ‘दुङाल’ सफल भएको बताउनुभयो । पुस्तकका लेखक प्रकाशकुमार श्रेष्ठ ‘माला केशरी’ ले तनहुँमा शरणार्थी शिविरको नजिकै जन्मिएर बाल्यकालदेखि देखे, भोगे एवं शरणार्थीले दिएको सूचनाका आधारमा उपन्यास तयार भएको जानकारी दिनुभयो ।
सामाजिक यथार्थवादी उपन्यास दुङाल २७५ पृष्ठको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु ४८४ छ । लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन् । उहाँको पहिलो उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भएको थियो । विस २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उहाँका तीनवटा उपन्यास प्रकाशित भएका हुन् ।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा भन्ने हुन्छ । शरणार्थी जीवनका दुःख, पीडा उतारिएको उपन्यासको नामाकरण तिब्बती भाषाको शब्दमा गरिएको लेखक मालिका केशरीले सुनाउनुभयो ।



प्रतिक्रिया